चन्द्रमामा चीनको यो महत्त्वाकांक्षी सफलता

author_avatar

चीन एकपटक पुनः चन्द्रमामा पुगेको छ। चीनको अत्यन्त महत्वाकांक्षी मिसन च्याङ्ग’इ–५ को ‘ल्याण्डर -एसेन्डर’ले १ दिसम्बर २०२० मंगलबारका दिन चन्द्र धरातलमा सुरक्षित अवतरण गरेको छ।

दोस्रो पंक्तिमा चीनको यस अभियानलाई अत्यन्त महत्वाकांक्षी मिसन लेख्नुको कारण छ। चन्द्र मिसन – अन्तरिक्ष मिसनबारे रूचिपूर्वक पढ्नु हुने महानुभावहरुलाई विदित नै छ- चीनले यसभन्दा पहिला नै दुईपटक चन्द्र अवतरण गरिसकेको छ।

चीनको पहिलो चन्द्र मिसन च्याङ्ग’इ– ३ को ‘ल्याण्डर’ र यन्त्र मानवले (भनौँ चीनको नील आर्मस्ट्रांग र बज़ एल्ड्रिन) सन २०१३ मै चन्द्र धरातल छोएर चीनलाई यो कार्य गर्ने पृथ्वीको तेस्रो राष्ट्र बनाएको थियो।

यस अभियानको सफलताले चीनको चन्द्र अभियानले उत्साहका साथ गति लियो। गत वर्ष २०१९ को प्रारम्भमै चीनको चन्द्र अभियान चेन्ज ४ को ‘ल्याण्डर’ र यन्त्रमानवले चन्द्रमाको पृथ्वीबाट कहिल्यै नदेखिने ‘डार्क साइड अफ मून’ अथवा ‘फार साइड अफ मून’मा सुरक्षित अवतरण गरेको थियो । ‘डार्क साइड अफ मून’ मा पुग्ने चीन पहिलो राष्ट्र बन्यो।

च्याङ्ग’इ–५ मार्फ़त चीन तेस्रो पटक चन्द्रमामा पुगेको हो। पाठकहरुलाई लाग्न सक्छ- त्यसो भए चीनको तेस्रो पटकको चन्द्र अभियान एवं अवतरणलाई अत्यन्त महत्वाकांक्षी किन भनियो ?

विज्ञानमा रूचि राख्ने पाठकले ध्यान दिनु पर्ने कुरा हो। च्याङ्ग’इ–५ को अवतरण सन्दर्भमा ‘ल्याण्डर -एसेन्डर’ लेखिएको छ तर पूर्वका दुबै अभियानका सन्दर्भमा भने ‘ल्याण्डर’ र यन्त्र मानव मात्रै उल्लेख भएको छ। ‘एसेन्डर’ शब्दका कारण नै चीनको च्याङ्ग’इ–५ अभियानलाई महत्वाकांक्षी भनिएको हो।

‘एसेन्डर’लाई तपाईहरुले ‘रिटर्न टिकट’को व्यवस्था भनी बुझ्दा कुरा छर्लङ्ग हुन्छ। चीनको यस अभियानमा पठाइएको यन्त्र मानवलाई चन्द्रमाको सयर गराई पुनः पृथ्वीमा फर्काउने योजना राखेको छ चीनले। सबै कुरा ठीकठाक रहेमा आउँदो १६-१७ दिसम्बर सम्म चीनको यन्त्र मानव चन्द्रमाबाट २ किलो जति कोसेली बोकेर पृथ्वीमा फर्किन्छ।

आउँदो १६-१७ दिसम्बरमा चीन चन्द्रमामा पुगी पृथ्वीमा फर्किने विश्वको तेस्रो राष्ट्रमा दर्ज़ हुनेछ। पहिलो राष्ट्र कुन हो यस बारेमा तपाईँहरुलाई भनी राख्नु परेन। चन्द्रमामा पुगेर पृथ्वीमा सकुशल फर्किने दोश्रो राष्ट्र भने रूस हो। रूसले सन १९७६ मा लूना २४ मार्फ़त आफ्नो यन्त्र मानवलाई चन्द्रमामा पुर्‍याई त्यहाँबाट नमूना सामग्री पृथ्वीसम्म ल्याउने सफलता पाएको थियो।

सन १९७६ को लूना २४ अभियान पछि विश्वका अनेकौँ राष्ट्रले ‘मून मिसन’ पठाए। तर चन्द्रमामा अवतरण गरी पुनः पृथ्वीमा फर्किने किसिमका कुनै पनि अभियान विगत ४४ वर्ष देखि भएका थिएनन्। चीनले ४४ वर्ष लामो खडेरी समाप्त पार्दै सन २०२० को २३ नोभेम्बरका दिन च्याङ्ग’इ–५ लाई चन्द्रमामा पठायो।

हिजो १ दिसम्बर २०२० मंगलबारका दिन च्याङ्ग’इ–५ को ‘ल्याण्डर -एसेन्डर’ले चन्द्र धरातल छुनुभन्दा केही पहिलादेखि मलाई आफ्ना मित्र द्वय डाक्टर सरोज ज्ञावाली र पत्रकार मोहन दाहालको अति सम्झना आयो। सम्झना किन आयो भने यी दुबैजना मित्र चन्द्रमामा मानिस पुगेको कुरामा विश्वास गर्नु हुन्न। उहाँहरुसँग यस अविश्वासका लागि अनेकौँ तर्क छन्। मैले बेलामौका उहाँहरुका सबै आशंका- सबै तर्कको विज्ञानसम्मत समाधान नदिएको होइन तर पनि उहाँहरुलाई कहिल्यै पनि नील आर्मस्ट्रांग- बाज़ एल्ड्रिनदेखि (अपोलो ११ का चन्द्र यात्री) रोनाल्ड ईभानस – ह्यरिसन स्कमिट (अपोलो १७ का चन्द्र यात्री) ले चन्द्र भ्रमण गरी (अपोलोका जम्मा ७ वटा मिसनमा १२ जनाले चन्द्र बिहार गरे। ११-१७ सम्मको अपोलो मिसनमा अपोलो १३ अभियानले भने चन्द्र अवतरण गरेन) पृथ्वीमा फर्केको कुरामा विश्वास लागेन।

अपोलो मिसन र चीनको  ‘च्याङ्ग’ इ–५ मिसन

अमेरिकी चन्द्र अभियान अपोलो ११ (पहिलो चन्द्र अवतरण) र चिनियाँ चन्द्र अभियान च्याङ्ग’इ–५ मा पूर्ण समानता छ। अपोलो ११ अभियानमा ‘सैटर्न ५’ रकेटबाट चन्द्रमामा जाने यानलाई पृथ्वीबाट प्रक्षेपित गरिएको थियो। चीनले आफ्नो चन्द्रयानलाई ‘लङ मार्च ५’ रकेटबाट प्रक्षेपित गर्‍यो।

दुबै अभियानका रकेटको काम चन्द्रयानलाई पृथ्वीको ‘लोअर आर्बिट’ सम्म पुर्‍याउनु मात्रै रहेको थियो। ‘लोअर आर्बिट’मा पुगेर चन्द्रयान रकेटबाट पृथक भयो। रकेटको काम यहीँ समाप्त भयो।

अपोलो अभियान तथा भर्खरैको चिनियाँ च्याङ्ग’इ–५ अभियानको चन्द्रयानका मुख्यतया: २ वटा भाग थिए। पहिलो ‘आर्बिटर’ जसले पृथ्वीको ‘लोअर आर्बिट’ देखि चन्द्रमाको ‘लोअर आर्बिट’सम्म पुग्ने काम गर्नु थियो र गर्‍यो। अपोलो ११ अभियानमा अमेरिकीहरुले ‘आर्बिटर’ को नाम राखेका थिए, नाम थियो ‘कोलम्बिया।’ चीनले ‘आर्बिटर’ को नाम केही राखेको वा नराखेको बारेमा मलाई थाहा छैन।

अपोलो ११ झैँ च्याङ्ग’इ–५ को ‘आर्बिटर’ ले चन्द्रमाको ‘लोअर आर्बिट’ सम्मको यात्रा गर्‍यो। चन्द्रमाको ‘लोअर आर्बिट’ मा पुगेर ‘आर्बिटर’ सँग रहेको चन्द्रयानको दोस्रो प्रमुख भाग जसले चन्द्रमामा ‘ल्याण्ड’ गर्ने निश्चित रहेको हुन्छ, त्यो भाग ‘ल्याण्डर – एसेन्डर’ पृथक हुन्छ। ‘आर्बिटर’ ले भने चन्द्रमाको ‘लोअर आर्बिट’ मै रहेर चन्द्र परिक्रमा गरी रहन्छ।

चन्द्रमामा ‘ल्याण्ड’ गर्ने चन्द्रयानले चन्द्रमाको ‘लोअर आर्बिट’बाट चन्द्र धरातलमा अवतरण गर्ने कार्य गर्छ। अपोलो अभियानमा चन्द्रयान (ल्याण्डर -एसेन्डर) को नाम ‘इगल’ राखिएको थियो। चिनियाँ चन्द्रयानलाई कुनै नाम दिइएको छ क़ि छैन, थाहा भएन।

चन्द्रयान अथवा ‘ल्याण्डर – एसेन्डर’ले चन्द्र अवतरण गर्छ। अवतरण भए पश्चात् चन्द्रयानमा रहेका मानिस अथवा यन्त्र मानव बाहिर निस्केर चन्द्रबिहार गर्छन्। त्यहाँबाट अनेको ‘सैम्पल’ एकत्र गर्छन् र पुनः चन्द्रयानमा बसेर चन्द्र धरातलबाट माथि ऊडेर चन्द्र ‘आर्बिट’ मा परिक्रमारत रहेको ‘आर्बिटर’ सँग जोडिन आइपुग्छन्।

जुन चन्द्र अभियानको उद्देश्य पुनः पृथ्वीमा फर्किने रहेको हुन्छ, त्यस चन्द्रयानमा दुईवटा इन्जिन हुन्छन्। एउटा चन्द्रमाको ‘लोअर आर्बिट’ बाट विस्तारै चन्द्र धरातलमा ओर्लिने अवरोह इन्जिन ‘डिसेन्ट इन्जिन’ (descent ) र अर्को फर्किने बेलामा चन्द्र धरातलबाट रकेटझैँ उडेर चन्द्रमाको ‘लोअर आर्बिट’मा आई पुग्ने आरोह इन्जिन ‘एसेंट’ इंजिन (ascent)।

जुन अभियान एकतर्फी मात्रै हुन्छन् अर्थात अभियानको उद्देश्य पृथ्वीमा फर्किनु रहेको हुन्न, तिनका चन्द्रयानमा ‘डिसेन्ट इन्जिन’ मात्रै हुन्छ र तिनलाई ‘ल्याण्डर’ भनिन्छ। तर दुईतर्फी यात्रा गर्ने अभियानका चन्द्रयानमा ‘एसेन्ट इन्जिन’ पनि भएकोले यस्ता चन्द्रयानलाई ‘ल्याण्डर – एसेन्डर’ भनिन्छ।

चिनियाँ च्याङ्ग’इ–५ को ‘ल्याण्डर एसेन्डर’ अपोलो ११ को ‘इगल’ झैँ चन्द्र धरातलमा ओर्लेको छ। यसभित्र रहेको यन्त्र मानवले चन्द्रभूमिमा २ मिटर सम्म खनेर माटो र ढुङ्गाको ‘सैम्पल’ एकत्र गर्छ। ‘सैम्पलिंग’ का साथै अन्य वैज्ञानिक परीक्षण उपरान्त यन्त्र मानव विस्तारै हिँड्दै चन्द्रयानमा प्रवेश गर्छ। चन्द्रयानको ‘एसेन्ट इन्जिन’ प्रज्वलित भएर चन्द्रयान चन्द्रमाको ‘लोअर आर्बिट’मा घुमिरहेको ‘आर्बिटर’ सँग जोडिन आइपुग्छ।

अपोलो ११ अभियानमा नील आर्मस्ट्रांग र बज़ एल्ड्रिनले ‘ईगल’को ‘एसेन्ट इन्जिन’ बालेर चन्द्रमाको ‘लोअर आर्बिट’ मा रहेको ‘कोलम्बिया’ सम्मको यात्रा गरेका थिए। ‘कोलम्बिया’सँग आबद्ध भएपछि उनीहरुले चन्द्रयान ‘ईगल’लाई चन्द्रमाको सतहमा खसाई दिएर ‘आर्बिटर कोलम्बिया’बाट पृथ्वीसम्मको यात्रा तय गरेका थिए।

चिनियाँ अभियानमा पनि ‘सैम्पल’ एकत्र गरेपछि यन्त्र मानव चन्द्रयानमा बसेर चन्द्रमाको ‘लोअर आर्बिट’ मा घुमिरहेको ‘आर्बिटर’सँग संयुक्त हुन आइपुग्छ। ‘आर्बिटर’सँग संयुक्त भए पछि चीनले चन्द्रयानलाई चन्द्रमामा खसाल्छ कि खसाल्दैन भन्नेबारे पनि मलाई थाहा छैन।

चीनको २०२० मा भएको चन्द्रमाको दुईतर्फी यात्रा र १९६९ को अपोलोको दुईतर्फी चन्द्रयात्रामा कुनै प्राविधिक परिवर्तन आएको छैन। यदि १६-१७ दिसम्बरका दिन चिनियाँ यान सकुशल पृथ्वीमा ओर्लियो भने के यसले १९६९ को चन्द्र अवतरणलाई प्रमाणित गर्दैन र?

https://deshsanchar.com/2020/12/02/444717/

Published by gyanmitra

a monk who like to study and travel and sometime try to write some feelings

Leave a comment

Design a site like this with WordPress.com
Get started