कृपया कोरोना भाइरसलाई इन्फोडेमिक नबनाइदिनुस्

म्यासेन्जरमा मित्र तारा रेग्मीको सन्देश आयो, ‘मलाई कोरोना भयो नि सर।’

सोधेँ, ‘के परीक्षण गराउनु भएको हो?’

‘हो नि।’

‘के भएर परीक्षण गराउनुभएको?’

‘मलाई त केही भएको थिएन, कुनै लक्षण पनि थिएनन्, तर श्रीमतीजीलाई रुघा लागेको थियो। उनको परीक्षण रिपोर्ट पोजेटिभ आए पछि मैले पनि गराएँ।’

‘अनि अहिले कहाँ हुनुहुन्छ?’

‘परिवारका चारैजनालाई संक्रमण देखिएको छ, हामी चारैजना घरमै आइसोलेसनमा छौँ।’

‘तपाईँले परीक्षण गराउनु आवश्यक नै थिएन, बेकारमा टेन्सन लिनुभयो।’

‘कस्तो कुरा गर्नु भएको सर? हामी चारैजनाले कोरोना बीमा गराएका थियौं, बीमाको पैसा लिनु परेन!’

‘ए त्यसो भए त तपाईंको दशैंतिहार राम्रै भयो। केही खर्च गर्नु परेन र चारजनाको बीमा रकमले त झण्डै ‘लकडाउन’मा भएको क्षति सट्टाभर्ना भयो। कोरोनाको क्षति कोरोनाले नै पूर्ति गरिदियो।’

‘अब हामीलाई चाँडै निको हुने उपाए भनिदिनुपर्‍यो। इम्युनिटी बढाउन के कस्तो खाने कुरा र अन्य के उपाय गरेर हामी छिट्टै कोरोना मुक्त हुन सक्छौं?’

साथीको समस्या र समस्या समाधान बारेको ‘फस्ट रिलिफ रेमेडी’को अभिलाषा सुन्दा म हाँसे। मसँग हाँस्नुबाहेक खिन्न हुने उपाय पनि थियो, तर मैले हाँस्नु नै रोजे। कारण हाँस्दा अथवा खिन्न हुँदा शरीरभित्र भिन्नभिन्न किसिमका न्यूरोट्रान्समिटरको उत्पत्ति एवम् सक्रियता एवं विनिमय प्रारम्भ हुन्छ। निश्चय खिन्न हुँदा बन्ने न्यूरोट्रान्समिटर शरीरका लागि लाभप्रद हुँदैनन्।

‘मानिसले ‘इम्युन सिस्टम’लाई खै कसरी बुझेका छन्!’

तर यो पक्का हो यो ‘इम्युन सिस्टम’ दुई – चार आठ – दस – दिनमा केही पोषिलो खाएर समुन्नत र सुदृढ हुने होइन। हुन त हर्लिक्स र भिभाका विज्ञापन हेर्दै ज्ञानवान भएको पिँढ़ीले मेरा इनर्जी यिनै हुन् भन्नुलाई असंगत भन्न मिल्दैन।

इम्युनिटी आनुवाशिंक रुपमा प्राप्त भएको जिनिस हुनुका साथै जीवनभरिको रहन – सहन – खानपान- वातावरण -परिस्थिति आदिको संयुक्त निष्पत्ति हो।

मित्रसँग यी सब कुरा गर्नको कुनै अर्थ थिएन। समस्यामा परेको मानिसलाई सैद्धान्तिक ज्ञान होइन, त्वरित समाधान चाहिन्छ।

मैले उनलाई घरमा जे उपलब्ध छ त्यही खानपिन गरेर कोरोनामुक्त हुने उपायका रुपमा तातोपानी, काढा, चिया प्रसस्त खाने परामर्श दिए। यसका साथै बढीभन्दा बढी आराम गर्ने, तातो पानीको वाफ लिने (उपलब्ध छ भने पानीमा सन्चो भिक्स हालेर) सल्लाह दिएँ।

साथै उनलाई जानकारी दिएँ, कोरोना भाइरसको ‘ इक्युबेसन पिरियड’ ५ – ७ दिनदेखि लिएर कोही कोहीमा २० देखि २२ दिनसम्म देखिएको छ। औसतमा यसलाई १४ दिन मानिएको छ। तपाईं १० देखि १५ दिन भित्रमा कोरोनामुक्त बन्नु हुन्छ। तपाईँले १४-१५ दिनसम्म घरमै आइसोलेसनमा बस्नुपर्‍यो।

दसौं दिनमा उनको फोन आयो, ‘हामी कसैलाई कुनै अप्ठेरो भएन, मलाई लाग्छ हामी संक्रमणमुक्त भइसक्यौं। अब विश्वस्त हुन कति दिनमा टेस्ट गरौं?’

‘हुन त तपाईले टेस्ट गर्नु आवश्यक छैन। तपाईँ ५ देखि ७ दिनमै कोरोना मुक्त भइसक्नु भएको थियो अथवा कि तपाईंहरुलाई कोरोना संक्रमण भएकै थिएन। पिसिआर तकनिकको ‘इरर’ले गर्दा रिपोर्ट पोजेटिभ आएको पनि हुन सक्छ। चाहनुहुन्छ भने १४ दिन पुगेपछि परीक्षण गर्नु होला।’

चीनमा उत्पत्ति भएको कोरोना भाइरस एउटा सामान्य भाइरस थियो। माघ १३,२०७६ का दिन नेपाल न्युज अनलाइनमा मैले यसबारे लेख्दै यो रुघाखोकीको भाइरस जतिकै समान्य भाइरस हो भनी यसको संक्रमण प्रसार दर (अर जिरो नम्बर) १.४ देखि २.५ सम्म भएको उल्लेख गरेको थिएँ।

त्यसबेला सम्म यस भाइरसको ‘मोर्टालिटी’ ४ प्रतिशतको हाराहारीमा रहेको थियो। भाइरस नयाँ भएकोले प्रारम्भमा ४ प्रतिशतको ‘मोर्टालिटी’ हुनु न त अस्वाभाविक नै थियो र न त खतरनाक नै।
तर चीन, डब्ल्युएचओ, मेडिकल माफिया, संसारभरिका मौकापरस्त र आपदाबाट लाभ उठाउने कुत्सित चाहनाधारी र मिडियाले यस भाइरसबारे यस्तो ‘इन्फोडेमिक’ प्रसारित गरे कि संसार नै यसको चपेटामा परी ‘लकडाउन’को अवस्थाबाट गुज्रियो।

तपाईंलाई सुन्दा अचम्म लाग्ला कोभिड १९ सन् २००२ मा देखा परेको ‘सार्स कोभ’ (सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस)तथा सन् २०१२ को ‘मर्स कोभ’ (मिडिल इस्टर्न रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस) भन्दा क्षीण, दुर्बल र कम घातक भाइरस थियो।

तर यसको परिणाम तपाईँ सबैका सामु छर्लङग छ। संसारभरि यसले करोडौं मानिसलाई संक्रमित गर्नुका साथै डब्ल्युएचओ प्रोटोकाल अनुसार संसारभरि यसबाट १३ लाख २६ हजार ३०५ जना (लेख्दै गर्दा) मानिसको मृत्यु भैसकेको छ। संसारभरी यसबाट संक्रमित हुनेको संख्या ५,४९,३९,६०० पुगेको छ भने अहिलेसम्म ३,८२,१८,४३० जना संक्रमण लागेर स्वस्थ भएका छन्।

यो लेख तयार गरिरहँदा संसारभरी ‘एक्टिभ पेसेंट’को संख्या १,५३,९४,८६५ छ। ‘एक्टिभ पेसेंट’ मध्ये ९९ प्रतिशत अर्थात झण्डै १,५२,९५,९५७ जना रोगीमा संक्रमण ‘माइल्ड’ रहेको छ भने १ प्रतिशत जतिमा अर्थात ९८,९०८ जना रोगीमा संक्रमण ‘सिरियस’ अथवा ‘क्रिटिकल’ अवस्थामा रहेको छ। आजकै मितिसम्मको कोरोना भाइरसको मृत्यु दर गणना गर्ने हो भने यो २.४१ प्रतिशत हुन आउँछ।

सुनियोजित षडयन्त्रले कोरोना भाइरसलाई दैत्य बनाइयो। भन्न सकिन्छ- वर्तमानमा कोरोना संक्रमण लागेर गम्भीर बिरामी हुनेको संख्या १ प्रतिशतमा सीमित भएको छ।

नेपालको तथ्यांक हेरौं, लेख्दै गर्दा संक्रमित संख्या दुई लाख १० हजार ९७३ मध्ये निको हुनेको संख्या १लाख ७६ हजार ३२४ रहेको छ। नेपालमा कोरोना भित्रिएदेखि अहिलेसम्म १२३० जनाको मृत्यु भएको तथ्यांक छ।

नेपालमा कोरोना संक्रमण भई स्वस्थ हुनेको प्रतिशत झण्डै ८३.५ छ। यसै गरी मृत्युदर ०.५८ प्रतिशत छ।

यस तथ्यांक अनुसार ‘एक्टिभ पेसेंट’ को संख्या ३३,४०९ रहेको छ। अर्थात अहिले सम्म कोरोना संक्रमित भएका कुल मानिसमध्ये १६ प्रतिशत मानिस संक्रमित रहेका छन्।

नेपालमा कोरोना संक्रमण परीक्षण प्रारम्भ भए यता माथिको तथ्यांकको बेलासम्म जम्मा १६ लाख १३ हजार ९११ टेस्ट सम्पन्न भएका छन्। यी झण्डै सम्पन्न भएको १६ लाख टेस्टमा एक व्यक्तिले घटीमा २ पटक टेस्ट गराएको मान्नु पर्ने हुन्छ। त्यसो त मेरै कतिजना साथीले ५ पटक सम्म ‘पिसिआर टेस्ट’ गराएका छन्। यसलाई सरदर २ नै मान्ने हो भने नेपालमा ८ लाख ७ हजार जनाको टेस्ट ह्ँदा संक्रमित संख्या २ लाख १० हजार ९७३ पुगेको हो। अर्थात टेस्ट भएका मध्ये २६ प्रतिशत मानिसमा संक्रमण देखियो, बाँकी ७४ प्रतिशत मानिसमा कोरोना संक्रमण देखिएन।

एकपटक यसबारेको विश्वकै तथ्यांक हेरौं। लेख्दै गर्दा विश्वमा संक्रमित हुनेको संख्या ५ करोड ४९ लाख ३९ हजार ६०० पुगेको छ भने संक्रमण लागेर स्वास्थ्य लाभ गर्नेको संख्या ३ करोड ८२ लाख १८ हजार ४३० रहेको छ। गणना प्रतिशतमै गरी हेरौं। संक्रमण लागेर स्वस्थ्य हुनेको संख्या ६९.५ प्रतिशत रहेको छ।

संक्रमणले मृत्यु हुनेको संख्या १३ लाख २६ हजार ३०५ छ। यसको प्रतिशत हुन आउँछ २.४१। अर्थात प्रारम्भमा ४ प्रतिशत मोर्टालिटी रेट भएको कोरोनाको मोर्टालिटी रेट २.४१ मा झरेको छ।
गत २४ घण्टामा विश्वभरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ९४१ रह्यो। एक दिनमा ३ हजार ९४१ को मृत्यु संख्याले तपाईँलाई अत्यायो होला, तर एकपटक अर्को एउटा तथ्यांक पनि हेरौं।

कोरोना आउनुभन्दा पहिला विश्वको जुन जनसंख्या (झण्डै ७ अरब ८० करोड) थियो नि, त्यसमध्ये विभिन्न रोग अथवा कारणले प्रति सेकेण्ड १.८ मानिसको मृत्यु हुन्थ्यो। मिनेटमा १०६.५, घण्टामा ६ हजार ३९२, प्रत्येक दिन (२४ घण्टामा) मा यो संख्या हुन्थ्यो- १ लाख ५३ हजार ४२४।

ठीक पढ्नु भयो तपाईंले। विश्वमा प्रत्येक दिन सरदर १ लाख ५३ हज़ार ४२४ जनाको मृत्यु हुन्थ्यो कोरोना आउनुभन्दा पहिला। गुगल गरेर हेरे हुन्छ तपाईंहरुले। कोरोना आउनुभन्दा पहिला विश्वमा प्रत्येक दिन १ लाख ५३ हजार ४२४ जनाका दरले बर्षेनी ५ करोड ६० लाख मानिसको मृत्यु हुन्थ्यो।

अब विश्लेषण गरौं- के कोरोनाका कारणले विश्वभरि मृत्युदरमा वृद्धि भएको छ?

मेरो कम्प्युटर स्क्रिनमा ‘ सेकेण्ड लास्ट मन्थ’ अर्थात १६ नोभेम्बर सोमबारका दिन बेलुकी ६ बजेर ५० मिनेटमा म यो प्रसंग लिपिबद्ध गरिरहेको छु। भर्खरै ‘डेथ क्लाक’ले संसारभरी यस वर्षमा अहिलेसम्म मृत्यु वरण गर्नेको संख्या ४ करोड ९२ लाख ९७ हजार १०० देखाएको छ। चलिरहेको वर्षमा अझै ४५ दिन बाँकी छन्। अब यो ४५ दिनको थप डाटा प्राप्त भए पछि यस वर्ष (कोरोना वर्ष) को कुल मृतक संख्याको जानकारी प्राप्त हुन्छ। त्यस पछि थाहा हुन्छ- विगतका वर्षहरुमा विश्वभरी मर्नेको संख्या ५ करोड ६० लाखमा कोरोनाका कारण कति जति वृद्धि भयो?

वर्तमानमा विश्वको जनसंख्या वृद्धि १.०५ प्रतिशतको दरले वर्षमा झण्डै ८ करोड १० लाख वृद्धि भइरहेको छ। तपाईँ यसलाई प्रतिमिनट १५० का दरले जनसंख्या वृद्धि अर्थात नयाँ बालबालिका जन्मिने बुझ्नसक्नु हुन्छ। जनसंख्या वृद्धि भए अनुसार अर्थात यो वर्ष गत वर्षको तुलनामा मृत्युदर पनि बढ्नु स्वाभाविक हो। जनसंख्या वृद्धिको अनुपातमा मृत्युदरलाई (०.५ प्रतिशत) वृद्धि भएको मान्दा यस वर्ष गत वर्षको तुलना झण्डै ३ लाख मृत्यु थप हुन गई यस वर्षको मृत्यु संख्या ५ करोड ६३ लाख पुग्न सक्ने अनुमान गर्न सकिन्छ।

चलिरहेको वर्ष २०२० मा मृतक संख्या ५ करोड ६३ लाख भन्दा बढी (जे जति बढी) भयो भने त्यो संख्यालाई म कोरोनाको खातामा हाल्छु। तर यदि संख्या ५ करोड ६३ भन्दा कम रह्यो भने के भन्ने? कोरोनाले गर्दा विश्वको वार्षिक मृत्युदर घट्यो?

कोरोनाका कारण मृतक भनिएका १३ लाख २६ हजार ३०५ मानिसको मृत्यु नयाँ होइन। विश्वभरी विभिन्न कारणले मानिसको मृत्यु हुन्थ्यो। ती हजारौं कारणमा एउटा कारण मात्र थप भएको हो। नेपालको वर्षेनी मृत्युदरको तथ्यांक उपलब्ध छैन। विश्वकै तथ्यांकबाट यसको मोटामोटी अध्ययन गर्ने प्रयास गरी हेरौं।

विश्वको ७ अरब ८० करोड जनसंख्यामा प्रतिदिन १ लाख ५३ हजार ४२४ जनाको मृत्यु हुन्छ भने नेपालको जनसंख्या ३ करोडको भागमा प्रतिदिनको मृत्यु संख्या ५८८ हुन आउँछ। भन्न सकिन्छ- नेपालमा सरदर प्रत्येक दिन ५०० देखि ६०० व्यक्तिको मृत्यु हुन्छ। कोरोनाका कारण गत चैतदेखि मृतक भनिएका १,२३० जनाको प्रतिदिनको औसत गणना गर्दा झण्डै प्रत्येक दिन ५ जनाको संख्या हुन आउँछ।

अब यसबारे थप चर्चा नगरी पाठकहरुले आफैँ बुझ्नुहोस् भन्ने जिम्मा दिन्छु।

एकपटक पुनः दोहोर्‍याउँछु, कोरोना सामान्य रुघाखोकीको भाइरस सरह थियो, हो र रहिरहन्छ। यसलाई ‘प्यान्डेमिक’ बनाइयो, तर वास्तवमा यो ‘प्यान्डेमिक’ नभएर ‘इन्फोडेमिक’ मात्रै हो।
यस कुराबाट इन्कार गर्न सकिदैँन कि नेपालमा पनि कोरोनाबाट मानिस मरेका छन्। अहिलेसम्मको १,२३० को तथ्यांकलाई कुन मुर्खले नजरअन्दाज गर्न सक्छ! तर के कोरोना नआएको भए यी १,२३० जना मानिस हामीसँगै हुन्थे?

बड़ो सुन्दर कथा छ विराट हिन्दू धर्म साहित्यमा। सृष्टि भएपछि मानिसको मर्ने क्रम पनि प्रारम्भ भयो। जनभाषामा भनिन्थ्यो, मृत्युले उसलाई लाग्यो। सबैको मरणको एकमात्र दोष मृत्युलाई मात्रै प्राप्त हुने गर्थ्यो। मृत्यु साह्रै बदनाम र कलंकित भयो। आजित आएर उसले देवगणका सामु विन्ती गर्‍यो – म त साह्रै बदनाम र तिरष्कृत भएँ, कोही मर्‍यो कि मृत्युले लग्यो भन्छन्, केही उपाय गरी दिनुपर्‍यो।

कथाले भन्छ- त्यस दिन देवगणले मृत्युलाई एउटा विशाल फौज प्रदान गरी कलंकबाट जोगिने उपाय दिए। त्यस फौजमा मानिस मर्ने विभिन्न रोग, व्याधि, आपदा, भाइरसरूपी सैनिक थिए। अब जनभाषामा मानिसले मृत्युले लग्यो भन्न छाडेर फलानोलाई फलानो रोगले, फलानोलाई फलानो रोगले लग्यो भन्न प्रारम्भ गरे। त्यसपछि मृत्यु अनेकन कारणमा विभाजित भयो। कोरोना भाइरस मृत्युको एउटा नयाँ सैनिक थपिएको हो। सारा खेल त मृत्युले नै खेल्छ तर उसको अपजस बोकिदिने एउटा नयाँ पात्रका रूपमा कोरोना उत्पत्ति भएको हो।

तपाईँहरुलाई विश्वास लागे पनि नलागे पनि यो ध्रुव सत्य हो। नेपालमा अहिलेसम्म कुल १६,१३९११ व्यक्तिको परीक्षण भएर २,१०,९७३ जनामा संक्रमण भएको वैधानिक पुष्टि भएको छ। तर कोरोना लागेर पीसीअर परीक्षण नगराई नै संक्रमण मुक्त हुनेको संख्या देशको कुल जनसंख्याको झण्डै ५ प्रतिशत रहेको छ। मान्नुस्- नेपालमा १४-१५ लाख जनालाई कोरोना भएर परीक्षणसम्म नपुगी नै निको भइसकेको छ। तपाईँ युरोप – अमेरिकासँग नेपाल र भारत जस्ता मुलुकको तुलना नगर्नुस्। हामीकहाँ परीक्षणको त्यस्तो सुविधा छैन जुन विकसित मुलुकमा उपलब्ध छ। व्यक्ति तवरमा पनि प्रत्येक नेपालीसँग परीक्षण गराउने हैसियत छैन।

हो, नेपालमा कोही कोहीलाई कोरोनाले ‘क्रिटिकल’ अवस्थामा पुर्‍यायो होला। यी १,२३० मध्ये ५०-६० जना कोरोनाकै कारण बिते होलान्। तर के यिनलाई आदर्श मानेर हिँड्ने? गत वर्ष मलाई दाँत दुखेको थियो, त्यो बेला यस्तो लाग्यो- बरु क्यान्सरको पीड़ामा खप्न सक्छु, यो दाँतको दुखाइ असहनीय हो। पीड़ा कुनै पनि कम अथवा बेसी हुँदैन, कुनै पनि प्रकारको पीड़ा भएको बेलामा आफ्नै पीड़ा संसारको सबैभन्दा ठूलो पीड़ा हुन्छ। कोरोना लागेर क्रिटिकल अवस्थामा पुगेर स्वास्थ्य लाभ गरी ततसम्बन्धी आफ्नो भोगाइ संस्मरण लेख्ने क्रममा संक्रमणलाई दानवीय, अति भयानक, जीवनमा कहिल्यै यस्तो पीडा नभोगेको आदि ढंगले बयान गरेर समाजमा त्रास फैलाउनेहरुको संख्या पनि ठूलो छ।

२०१९ मा मानिससँग साक्षात्कार गरेको कोरोना २-३ वर्ष समाप्त हुँदैन। यसविरुद्ध सफल भ्याक्सिन आए पनि भ्याक्सिन वितरण हुन कम्तीमा ३ वर्षको समय लाग्छ। तबसम्म तपाईँहामीले कोरोनासँग हातेमालो – पैठेजोरी गर्दै बाँच्नु छ। अब तपाईँ योसँग त्रसित भएर आफ्नो मानसिक क्षमता कम गरी यसलाई सामर्थ्यवान बनाउनु हुन्छ कि यसलाई बुझेर, यसलाई सामान्य रुघा खोकीको भाइरस ठानेर आफ्नो मानसिक क्षमता – आत्मबल बढाएर योसँग मुकाबिला गर्ने बाटो रोज्नुहुन्छ, त्यो तपाईँकै स्वतन्त्रता हो।

https://deshsanchar.com/2020/11/17/439170/

Published by gyanmitra

a monk who like to study and travel and sometime try to write some feelings

Leave a comment

Design a site like this with WordPress.com
Get started