पृथ्वी नष्ट हुने भयो भने तपाईँ के गर्नुहुन्छ?

पृथ्वीमा रहेको मानव प्रजाति समग्र रुपमा नष्ट हुने संयोग वा दुर्योग घटित नै हुने भयो भने तपाईं के गर्नुहुन्छ?

वर्तमानमा ‘होमो सेपियन्स’ भनाउँदा यिनै मानव प्रजाति अर्थात हाम्रो एकछत्र राज्य छ पृथ्वीमा। विज्ञान भन्छ- ‘होमो सेपियन्स’ अस्तित्वमा आउनुभन्दा पहिला यस पृथ्वीमा डाइनासोरको राज र रजाइँ व्याप्त थियो।

‘वन हु ह्याज अ बिगनिङ मस्ट ह्याभ एन इन्ड।’ पृथ्वी बनेदेखि यो वाक्य कैयौँपटक सत्यमा परिणत भएको छ। विगतमा डाइनासोरसँग पनि यो घटित भयो। र, ती लुप्त भएर ’होमो सेपियन्स’को अस्तित्वमा आउने सम्भावना मात्रै जुरेनन्, कैयन लाख वर्षसम्म सुखद संयोग घटित हुने सम्भावनाका तमाम चरण एकपछि अर्को फलिभूत हुँदै ’होमो सेपियन्स’ले जल, थल, नभ हुँदै सुदूर अन्तरिक्षसम्म आफ्नो पहुँच कायम गर्‍यो।

पुनः माथिको वाक्य घटित हुने चरणका प्रारम्भिक चिन्ह देखिए भने तपाईँ के गर्नुहुन्छ?

म तपाईँलाई सजिलो होस् भनी महान वैज्ञानिक रिचर्ड फाइनम्यानको दृष्टिकोण भन्छु। रिचर्ड भन्छन्- पृथ्वीमा मानव प्रजातिको अस्तित्व समाप्त हुने संकट देखा पर्‍यो र हामीसँग मानवले उपलब्ध गराएको अथाह ज्ञान/विज्ञानमध्ये एक वाक्यमा कुनै ज्ञान अथवा विज्ञानलाई अर्को सृष्टिका लागि संग्रहित गरिराख्न सक्ने मात्रै सुलभता रह्यो भने हामीले त्यसका लागि एटम विज्ञान रोज्नु पर्छ।

फाइम्यानको नजरमा मानवले उपलब्ध अथवा आर्जित गरेको विज्ञानमा सबैभन्दा महत्वपूर्ण एटम विज्ञान हो। उनी यस विज्ञानलाई संरक्षित गरी अर्को सृष्टिसम्म पुर्‍याउने चाहना राख्छन्।

तपाईँको नजरमा कुन ज्ञान अथवा विज्ञानलाई संरक्षित गरी अर्को सृष्टिसम्म पुर्‍याउने कल्पना आउँछ? हुन त यस लेखको प्रारम्भ नै कल्पनाबाट भएको हो, यसमा थप कल्पनाको उडान लिपिबद्ध गर्न चाहन्छु।

मेरा विज्ञान विषयक लेखका केही नियमित पाठक छन्। शरच्चन्द्र वस्तीको विचार व्याकरण संग्रहित गर्ने हुनसक्छ। जिबेन्द्र सिम्खडाको विचार सूचनाको आदानप्रदान (पत्रकारिता) हुनसक्छ। सरूभक्तको चयनमा ‘अहंकार’ पर्ने सम्भावना हुन्छ। अरुणकुमारमा सुवेदीले क्वान्टम म्याकेनिक्स रोज्ने सम्भावना हुन्छ। मित्र गुरुप्रसादले न्यानो टेक्नोलोजी रोज्नु हुन्छ भने प्रोफेसर उदयराज खनालले ‘म्याथ’मै बल गर्नुहुन्छ।

डाक्टर बिपी तिमिल्सिनाले आयुर्वेद संग्रहित गर्ने मनसाय व्यक्त गर्नुहुन्छ भने डा. सुनिल शर्माले सर्जरी। डा. बिपिनले प्लाज्मा थेरापी त डा. महेश भट्टराईले ‘कार्डियोलोजी’, स्वामी चन्द्रेशले ‘ईश्वर सर्वप्राणिनाम देहम आसितः’ संग्रहित गर्ने अडान लिनुहुन्छ भने स्वामी अरुणले ओशो।

सुरेश भट्टराईले ‘कस्मोलोजी’को ज्ञान रोज्नु होला भने विद्यानाथ कोइरालाले ‘विद्या धनम् सर्व धनम् प्रधानम्’को वकालत गर्ने प्रबल सम्भावना हुन्छ।

मित्र नेत्र आचार्यले बुद्धिज्म त छत्र कार्कीले ‘माइण्ड म्यानेजमेन्ट’को पक्षमा जिरह गर्नुहुन्छ। मनोज दाहालले जीवन र प्रकृतिको ’फ्लो’सँग बग्ने सन्देश ‘प्रिजर्भ’ गर्ने सम्भावना हुन्छ।

कसैको मतमा अनुवांशिकी र डीएनए पर्ला, कसैको मतमा विद्युतको ज्ञान। फेसबुके पिँढी इन्टरनेट रोज्ला र कतिपयको महावाक्य हुनेछ- ‘एनी हाउ, आफ्नो काम बनाउ।’

अब पृथ्वी त जम्मा हो नै कति? १२,७४२ किलोमिटर व्यासको गुच्चा न हो, जहाँ एक बिन्दुदेखि सर्वाधिक टाढाको अर्को बिन्दु मोटामोटी रुपमा २० हजार किमी हुन आउँछ। त्यसपछि घुमिफिरी रूम्जाटार।

तपाईँलाई थाहा छ मानिसको सर्वाधिक टाढा पहुँच कहाँसम्म भएको छ? तपाईको जबाफ चन्द्रमा, मंगल र शनि ग्रह हो भने ‘करेक्ट’ भए पनि ‘पर्फेक्ट करेक्ट’ होइन।

मानिसको पहुँच सूर्यभन्दा पनि धेरै टाढासम्म भइसकेको छ। सूर्य त छ नै कति? मोटामोटी १५ करोड किमी न हो। मानिसको पहुँच करोडौँ मात्रै होइन, अर्बौँ किमी टाढासम्म भइसकेको छ।

भाएजर – १ भन्ने मानिस निर्मित यान सूर्य र पृथ्वीको दूरी भन्दा १५० गुणा बढी दूरीमा पुगिसकेको छ। ५ सेप्टेम्बर सन् १९७७ मा नासाले पठाएको यो ‘स्पेश प्रोब’ आज ३ नोभेम्बर २०२० का दिन (लेख्दै गर्दा) ४३ वर्ष, १ महिना, २८ दिनपछि पृथ्वीदेखि झण्डै १५० ऐ. यु. टाढा (झण्डै २२ अर्ब किमी) बाट सन्देश पठाइरहेको छ।

भाइजर यानका विभिन्न इभेन्टस

यो बेग्लै कुरा हो- प्रकाशको गतिबाट हिँड्ने इलेक्ट्रिक सन्देश (इन्टरनेट- रेडियो सन्देश) लाई पनि भायजर १ बाट पृथ्वीसम्म आउन झण्डै २१ घण्टाको समय लाग्छ र नासाले यसलाई कुनै म्यासेज पठाउँछ भने त्यो सन्देश पुग्न पनि २१ घन्टाको समय लाग्छ। भायजर – २ पनि झण्डै यत्ति नै टाढा ‘इन्टरस्टेलर स्पेश’मा निरन्तर अघि बढ्दै गइरहेको छ।

भायजर यानबाट पृथ्वीसम्म सन्देश आउन २१ घन्टा लाग्छ!

मैले अकस्मात भायजर यानको प्रसंग हुल्नुको कारण छ। कारण के भने एकजना बड़ो प्रतिभाशाली वैज्ञानिक, लेखक र चिन्तक भएका छन् हाम्रो पृथ्वीमा। कार्ल सगन भन्ने ती मानिसले भायजर यानमा पृथ्वीबाट थुप्रै थोक हालेर पठाउने प्रस्ताव गरे अनुसार यानसँग अनेकौँ वस्तु पठाइयो।

तत्कालीन अमेरिकी राष्ट्रपति जिम्मी कार्टर, युनाइटेड नेशनका सेक्रेटरी जनरल कुर्त वाल्डहाइमका शुभकामना सन्देशका साथै पृथ्वीमा प्रचलित विभिन्न ५५ वटा भाषाका सन्देश, बीथोवन-बाघ-मोजार्ट, विली जान्सन, चक बेरी, वाल्या वाल्कान्स्काका पाश्चात्य संगीतका साथै भारतीय गायिका केसरबाई केरकरको राग भैरवीमा आधारित गीत ‘जात कहाँ हो ‍अकेली गोरी’का डिस्क भायजरमा राखी पठाइएका छन्।

भायजर यानमा पठाइएको केसरबाई केरकर र उनको गीतको डिस्क

पृथ्वीका फोटो, विभिन्न ‘लाइफफॉर्म’का फोटो र विभिन्न ‘साइन्टिफिक’ जानकारीका साथै भायजर यानमा ‘इमेजिङ साइन्स सिस्टम’ (ISS) ‘अल्ट्राभायलेट स्पेक्ट्रेमीटर’ (UVS) ‘इन्फ्रारेड इन्टरफेरोमिटर स्पेक्ट्रेमिटर’ (IRIS) ‘प्लेनेटरी रेडियो एस्ट्रोनोमी एक्सपेरिमेन्ट’ (PRA) फ़ोटोपोलरीमिटर (PPS) ‘ट्रीएक्सियल फ्लक्स गेट म्यागनेटोमिटर’ (TFGM ) ‘प्लाज्मा स्पेक्ट्रेमिटर’ (PLS) ‘लो एनर्जी चार्जड पार्टिकल्स एक्सपेरिमेन्ट’ (LECP) ‘प्लाज्मा भेव्स एक्सपेरीमेन्ट’ (PWS ) कास्मिक रे टेलेस्कोप (CRS) रेडियो साइन्स सिस्टम (RSS ) जस्ता थुप्रै प्रविधि जडित रहेका छन्।

भायजर यानको यात्राक्रम (रूट)
भायजर यानमा जड़ित विभिन्न साइंटिफिक सिस्टम्स

समानान्तर युगमा बाँचिरहेका मानिसले त केही बुझ्न सक्दैनन् र हामी कल्पना गर्छौ- नयाँ सृष्टिसम्म आफ्नो ज्ञान हस्तानान्तरित गर्नेबारे! हाम्रा प्रखर वैज्ञानिकसँग एउटा सानो प्रश्न गरी हेर्नुस्, तपाईँहरुले आजसम्म हड़प्पा-मोहन जोदड़ोको भाषा बुझ्नु भयो- जे नयाँ सृष्टिको ‘लाइफ डोमिन’ले तपाईँको भाषा बुझ्ला भन्ने कल्पना गर्नुहुन्छ!?

तपाईंको टाउकोमाथि आकाशमा विभिन्न खगोलीय पिण्डका साथै थुप्रै मानव निर्मित वस्तु पनि घुमिरहेका हुन्छन्। मानव निर्मित ती वस्तु मध्ये झण्डै ४०० किमि उचाइमा एउटा कृतिम उपग्रह जसलाई अन्तरिक्ष ल्याब पनि भन्न सकिन्छ परिक्रमारत रहेको छ। ‘इन्टरनेशनल स्पेस स्टेसन’ (ISS ) भनिने यस कृत्रिम उपग्रहले ९३ मिनेटमा पृथ्वीको एउटा परिक्रमा पूरा गर्छ।

पृथ्वी सतहदेखि ४०० किमी मानफनी घुमी रहेको ‘इंटरनेशनल स्पेस स्टेशन’ ( आईएसएस )

भनौं यसले एक दिनमा पृथ्वीको १६ वटा परिक्रमा गर्छ। यहाँ भएका मानिसहरुले एकै दिनमा १६ पटक सूर्योदय भएको हेर्न पाउँछन्। सन् २००० यता यहाँ सधैं केही मानिस बस्दै आएका छन्। कहिलेकाहिँ यो संख्या १३ सम्म पनि पुगेको छ। वर्तमानमा जेसिका मेर (JESSICA MEIR) , ओलेग स्क्रिपोचका (OLEG SKRIPOCHKA ), ड्र्यू मोर्गन (DREW MORGAN), लुका परमिन्टानो (LUCA PARMINTANO) र अलेक्सेन्डर स्कोभोरत्सोभ (ALEXANDER SKVORTSOV) यस अन्तरिक्ष प्रयोगशालामा रहेका छन्।

आईएसएस भित्र रहेका अंतरिक्ष यात्री

गुरुत्वाकर्षणमा बलेको मैनबत्ती र अति कम गुरुत्वाकर्षणमा बलेको मैनबत्तीको अंतर। दोश्रो छविमा आईएसएसमा बल्दै गरेको मैनबत्ती

यस अन्तरिक्ष प्रयोगशालामा थुप्रै व्यक्तिका डिएनएका साथै थुप्रै किसिमका बिउ पनि पठाइएका छन्।

भायजर यान र अन्तरिक्ष प्रयोगशालामा यी विभिन्न वस्तु पठाइनुको कारण के होला?

पहिलो सर्वविदित कारण त पृथ्वीबाहेक अन्य कतै पनि कुनै प्रकारको जीवन ( एलियन) छन् भने उनीहरुले यी यानसँग जम्का भेट भएको खण्डमा पृथ्वी र यहाँका मानिसबारे जानकारी पाउन सकून्।

दोश्रो कारण अप्रत्यक्ष रूपमा मैले चर्चा गरेको विषय नै हो। कथंकदाचित पृथ्वीमा मानिसको समग्र विनाश हुने भयो भने नयाँ सृष्टिका लागि केही ज्ञान हस्तान्तरित-स्थानान्तरित-रूपान्तरित हुन सकोस्।

पृथ्वी उत्पत्ति भएदेखि अहिले सम्म ५-७ पटक महाप्रलय (MASS EXTINCTION) घटित भइसकेको घोषणा गर्छ विज्ञानले। साथै विज्ञान दावी गर्छ- प्रत्येक पटकको प्रलयपछि पहिलाको भन्दा उन्नत ‘लाइफ डोमिन’ आयो पृथ्वीमा। श्रेष्ठताको अहंकार र मूर्खता दुबै ‘सुप्रिम’ कोटिका हुन्छन्। के यो सब पढ़िरहँदा तपाईँलाई लाग्दैन- आफूलाई सर्वश्रेष्ठ ठान्ने हामी ‘होमो सेपियन्स’को मूर्खता भनौँ वा अहंकार हाँसउठ्दो किसिमकै छ। ऊ प्रकृतिलाई भविष्यमा हुने कुनै प्रलयपछि नयाँ सृष्टिका बारे पुरानो ज्ञान दिन चाहन्छ! मानौँ प्रकृतिलाई पुरानो ‘रोडम्याप’ उपलब्ध नभए उसले नयाँ सृष्टि गर्न सक्दैन।

तपाईँहाम्रो कुरा छाड़ौँ, वैज्ञानिक रिचर्ड फाइनम्यानकै मूर्खताको विश्लेषण गरी आनन्द लिएर आफ्नो मूर्खता के मूर्खता भनी सन्तुष्टि लिउँ। फाइनम्यान भन्छन- हामीले एटम विज्ञान संरक्षित एवं संगृहित गर्नुपर्छ। यसोभन्दा उनी बिर्सिन्छन्- झण्डै २ हज़ार वर्षको निरन्तर र अथक प्रयास र हज़ारौँ श्रेष्ठ मस्तिष्कको सक्रिय सहभागिताले मात्रै’ होमो सेपियन्स’ भनाउँदा हामीलाई एटमबारे थाहा हुन सकेको हो। उनी एक वाक्यमा ‘एटमोलोजी’ सुरक्षित गरी नयाँ सृष्टिसम्म हस्तान्तरित गर्ने अभिलाषा पोख्छन्। यसोभन्दा उनी यो पनि बिर्सिन्छन कि ज्ञान ‘क्युमुलेटिभ’ हुन्छ। कणाद, डाल्टन आदिदेखि रदरफोर्ड, थॉमसन, चैडविक बोहरदेखि तमाम आधुनिक ‘क्वाण्टम फिजिसिस्ट’हरुको एकपछि अर्को प्रयासले मात्रै एटमबारे थाहा भएको हो।

एउटा कथाबाट चर्चा अगाडि बढाउँदै लेखनीलाई विश्रामतिर लैजान चाहन्छु।

भारतको अन्डमान निकोबार द्वीप समूह नजिकै एउटा अर्को द्वीप छ सेन्टिनल। यहाँका बासिन्दा लाई सेन्टिनेली (SENTINELI) भनिन्छ। यो द्वीप र यहाँका बासिन्दा शेष पृथ्वीसँग पूर्णतया पृथक छन्। वैज्ञानिक भन्छन्- यहाँका मानिस अझै ‘स्टोन एज’मा छन्। विगत ६० हज़ार वर्षदेखि यिनीहरु यहाँ बस्दै आएका छन्। हामी ‘होमो सेपियन्स’ ले अर्जित गरेको कुनै किसिमको विकासको किरण यहाँसम्म पुगेको छैन।

अब कल्पना गरौँ- सेन्टिनल द्वीप र यहाँका बासिन्दाबाहेक सम्पूर्ण पृथ्वीको जीवन नष्ट भयो। नष्ट हुनुपूर्व हाम्रा वैज्ञानिकले कम्प्युटरमा सबै ज्ञान संगृहित गरेर यस द्वीपका मानिससम्म पुर्‍याइदिए। उनीहरुले अकस्मात् प्राप्त भएको यस ज्ञानको के उपयोग गर्लान्? उनीहरुले आफ्नो भाषाबाहेक पृथ्वीमा प्रचलित कुनै पनि भाषा बुझ्दैनन्, उनीहरुलाई प्राप्त भएको ज्ञानको के नै उपयोगिता?

समानान्तर युगमा बाँचिरहेका मानिसले त केही बुझ्न सक्दैनन् र हामी कल्पना गर्छौ- नयाँ सृष्टिसम्म आफ्नो ज्ञान हस्तानान्तरित गर्नेबारे! हाम्रा प्रखर वैज्ञानिकसँग एउटा सानो प्रश्न गरी हेर्नुस्, तपाईँहरुले आजसम्म हड़प्पा-मोहन जोदड़ोको भाषा बुझ्नु भयो- जे नयाँ सृष्टिको ‘लाइफ डोमिन’ले तपाईँको भाषा बुझ्ला भन्ने कल्पना गर्नुहुन्छ!?

अब यस प्रसंगमा मैले थप केही लेखेँ भने मेरो कुनै आग्रह प्रतिविम्वित हुन सक्छ, विज्ञ पाठकहरुले भन्न खोजेको कुरा ग्रहण गरिसक्नु भयो होला। तसर्थ अब लेखलाई तन्काउनुको कुनै औचित्य छैन।

मैले पृथ्वीमा मानव प्रजाति समाप्त हुनुभन्दा केही पहिला खबर पाएँ भने ‘आई विल गो फर लास्ट प्याग अफ व्हिस्की एन्ड लास्ट कन्ट्याक्ट विद माई गर्ल।’

https://deshsanchar.com/2020/11/10/436788/

Published by gyanmitra

a monk who like to study and travel and sometime try to write some feelings

Leave a comment

Design a site like this with WordPress.com
Get started